चैत ८ । भारतको मुम्बईमा सन् १९९३ मा भएको शृङ्खलावद्ध विस्फोटसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले बलिउड नायक सञ्जय दत्तलाई जेल सजाय सुनाएको छ । आदालतको फैसला अनुसार उनले अब पाँच वर्ष जेलमा बस्नु पर्नेछ । उनले १८ महिना र केही दिन जेलमा बिताइसकेको हुनाले अब लगभग साढे तीन वर्ष अझै जेलमा बस्नुपर्नेछ । सर्वोच्चले उनलाई एक महिनाभित्र आत्मसमर्पण गर्न आदेश दिएको छ । सर्वोच्चले उक्त बम कान्डका दोषी ठहर भएका याकूब मेननलाई फाँसीको सजाय सुनाएको छ । त्यसैगरी बाँकी १० जनाको सजायलाई अदालतले जन्मकैदमा परिणत गरेको छ ।
ती विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ घाइते भएका थिए । प्रहरीले १२३ आरोपीलाई गिरफ्तार गर्दा एक जना बलिउड स्टार सञ्जय दत्त पनि थिए । प्रहरीले उनको घरबाट एके ४७ राइफल बरामद गरेको थियो । उनीमाथि दाउद इब्राहिम र अबु सलेमको गिरोहबाट हतियार लिएको आरोप छ । २६ अप्रिल १९९३ मा सञ्जय दत्तले प्रहरीलाई बयान दिँदै आफ्नो दोष स्वीकार गरेको बताइएको थियो । १९९५ देखि २००७ सम्म उनी जमानतमा जेल बाहिर रहे । अक्टोबर २००७ मा आर्म्स एक्ट अन्तर्गत ६ वर्षको कैद सजाय सुनाइएपछि उनले आत्मसमर्पण गरे । सर्वोच्चले २७ नोभेम्बर २००७ मा उनलाई जमानतमा रिहा गरेको थियो । यही मुद्दामा अन्तिम फैसला आएपछि दोषी ठहर भएर उनले बाँकी कैद भुक्तान गर्न जेल जानु पर्ने भएको हो ।

Post a Comment Blogger

 
Top