काठमाडौं,फागुन १६

पूर्व राजदम्पती आफ्ना छोरा पूर्व युवराज पारस शाहको स्वास्थ्यस्थिति बुझ्न आज दिउँसो बैंककतर्फ प्रस्थान गर्नुभएकोछ । पूर्वयुवराज पारस एक हप्ता अघि हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत रहनुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल आफ्नो नातिनातिनीसहित थाइ एयरवेजको विमानबाट आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्व राजा ज्ञानेन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै छोराको स्वास्थ्यस्थिति राम्ररी बुझ्ने र चिकित्सकहरूसँग कुराकानीसमेत गर्ने उल्लेख गर्दै पारसको स्वास्थ्यस्थिति प्रति चासो र चिन्ता व्यक्त गर्नेहरू प्रति धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले भगवानप्रति भरोसा राख्नुपर्छ र चिकित्सकको क्षमतामा विश्वास गर्नुपर्ने पनि बताउनुभयो । उपचाररत पूर्व युवराज पारसको स्वास्थ्यस्थिति बुझन् यस अघि पूर्व युवराज्ञी हिमानी शाह, बहिनी प्रेरणालगायत राज परिवारका अन्य पूर्व सदस्यहरू बैंकक पुगिसक्नुभएको छ । विमानस्थलमा पूर्व राजदम्पतीलाई विदाइ गर्न राप्रपा नेपालका नेता, कार्यकर्ता एवम् सर्वसाधरणको उपस्थिति रहेको थियो ।

Post a Comment Blogger

 
Top