काठमाडौं -
हृदयाघातपछि थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधारको संकेत नपाएपछि चिकित्सक नै तनावमा परेका छन् । अचानक बेहोस भई लडेपछि अघिल्लो मंगलबार राति पूर्वयुवराज पारसलाई अस्पताल भर्ना गरिएको थियो । एक साता लामो उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार आउन नसकेको अस्पतालले जनाएको छ ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालले उनको स्वास्थ्यमा सुधार नआएको औपचारिक जानकारी गराएको हो । पूर्वयुवराज पारसको स्वास्थ्य अवस्थामा कुनै सुधार देखिएको छैन, स्थिति अझै पनि गम्भीर तर स्थिर छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भर्ना भएको भोलिपल्टदेखि नै अस्पतालले पूर्वयुवराज पारसको स्वास्थ्य अवस्थामा गम्भीर तर स्थिर (क्रिटिकल बट स्टेबल) रहेको जनाउँदै आएको छ ।
एक सातासम्म पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहसमेत बुधबार बैंकक जाने भएका छन् । अस्पतालमा मृत्युसँग लडिरहेको एक्लो छोराको अवस्थामा कुनै सुधार आउन नसकेपछि शाह दम्पती बैंकक जान लागेका हुन् । सिमरामा रहेका ज्ञानेन्द्र दम्पती दुई दिनअघि मात्र काठमाडौँ आएका थिए । यसअघि नै पारसपत्नी पूर्वयुवराज्ञी हिमानी बैंकक गइसकेकी छिन् । अस्पतालले जनाएअनुसार पारसको शरीरको तापक्रम भने ३३ बाट बढेर ३९ डिग्री पुगेको छ । तापक्रममा सुधार आए पनि उनको होस अझै खुल्न सकेको छैन । अघिल्लो मंगलबार बेलुका थाई समयानुसार ९ बजे हृदयाघात भएपछि पारसलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा भर्ना गरिएका उनमा कुनै सुधार नआएपछि सीसीयू (अति सघन कक्ष) मा सारी उपचार गराइएको छ । ---- रासस

Post a Comment Blogger

 
Top